जीवनका गहिरा सत्यहरू र आत्मज्ञानको महत्त्व र मार्ग के हो? हाम्रा पूर्वीय ग्रन्थहरू, जस्तै गीतामा प्रस्तुत तर्क र तथ्यहरूको तर्कपूर्ण र उपयोगी विश्लेषण कसरी गर्ने?
२०८१ चैत्र १८ सोमवार

१. तर्कको वास्तविक अर्थ र आजको सामाजिक दृष्टिकोण:
तर्कको वास्तविक अर्थ भनेको वस्तुनिष्ठ दृष्टिकोणबाट सोच्नु हो, जसले सत्य र न्यायलाई आधार मानेर बाह्य प्रभाव र व्यक्तिगत अनुकूलतालाई परास्त गर्दछ। तर आजको समाजमा, हामी प्रायः बाह्य रूप, स्थिति, र हैसियतका आधारमा व्यक्ति, विचार, धर्म वा सम्प्रदाय जस्ता अनेकौं कुराहरूको मूल्याङ्कन गरिरहेका हुन्छौं। के तपाईंलाई यस्तो लाग्दैन? हामी अधिकांशतः बाहिरी आवरण र भौतिक अवस्थाका आधारमा निर्णयहरू लिइरहेका छौं।
उदाहरणको लागि, एक साधारण व्यक्तिले प्रस्तुत गरेको कुनै तर्कलाई हामी सहजै बेवास्ता गर्दछौं, जबकि त्यही तर्क कुनै प्रसिद्ध व्यक्ति, प्रभावशाली समूह वा आकर्षक ढंगले प्रस्तुत गर्ने व्यक्तिले राख्दा हामी त्यसलाई महत्त्वपूर्ण ठान्छौं।
यसरी, बाह्य रूप, भौतिक अवस्था वा अनुकूलताको आधारमा गरिने मूल्याङ्कनले शुद्ध ज्ञान र तर्कको वास्तविकतालाई अनदेखा गर्ने प्रवृत्ति आजको समाजमा व्याप्त एक गम्भीर समस्या बनिरहेको छ। यसले हाम्रो निर्णय प्रक्रियामा आवेग र अतार्किकता थप्दछ, जसले अन्ततः समाजलाई नै गलत निर्णयहरूको मार्गमा डोर्याउँछ। यही कारणले गर्दा समाजका धेरै घटनाहरू भावनात्मक र तात्कालिक प्रतिक्रियाहरूको शिकार बन्न पुग्छन्।
आखिर यस्तो किन हुन्छ? यो प्रवृत्ति कसरी सिर्जना भयो? जब हामी बाह्य प्रभाव र आत्म-संरक्षणको भावनाबाट प्रेरित भएर निर्णय गर्छौं, हामी वस्तुनिष्ठ तर्कबाट टाढिन्छौं र शुद्ध ज्ञानको वास्तविकतालाई बुझ्नबाट वञ्चित हुन्छौं। यस्तो अवस्था किन उत्पन्न हुन्छ र यसको जड के हो भन्ने प्रश्न स्वभाविक रूपमा प्रश्न उठ्छ। आखिर शुद्ध ज्ञान के हो? जीवनका गहिरा सत्यहरू र आत्मज्ञानको महत्त्व र मार्ग के हो? हाम्रा पूर्वीय ग्रन्थहरू, जस्तै गीतामा प्रस्तुत तर्क र तथ्यहरूको तर्कपूर्ण र उपयोगी विश्लेषण कसरी गर्ने?
यिनै जिज्ञासाहरूको उत्तर खोज्ने क्रममा म अष्टावक्र गीतासम्म आइपुगेको छु। जसरी हामी बाह्य रूप र भौतिक सम्पत्तिमा आधारित मूल्याङ्कन गर्छौं, त्यसको ठीक विपरीत, अष्टावक्र गीता जस्ता गहिरो तात्त्विक शिक्षाहरूले हामीलाई बाह्य प्रभाव र भौतिक मूल्याङ्कनको सीमाभन्दा पर जान प्रेरित गर्छन्। यसले हाम्रो मनोवृत्ति र समाजको सतही प्रवृत्तिलाई चुनौती दिँदै शाश्वत सत्यको खोजीमा अगाडि बढ्न मार्गदर्शन गर्दछ। यस आलेखको माध्यमबाट, म आफ्नो सीमित क्षमताले अष्टावक्र गीताका गहन शिक्षाहरूलाई बुझ्ने र सत्य तथा तात्त्विक ज्ञानको मार्गमा हिँड्ने एउटा प्रयास मात्र गरिरहेको छु। यसको रसमै डुब्न सकेको छैन तर राग (सुगन्ध) लाई आफ्नो सीमित क्षमताले भ्याएसम्म सुग्न प्रयास गरिरहेको छु।
२. प्राचीन नेपालको भूमिबाट ज्ञानको खोजी: राजा जनक र ॠषी अष्टावक्र :
हाम्रो गहन ज्ञानको अभिन्न एउटा यात्रा प्राचीन मिथिला राज्य बाट सुरु हुन्छ, जुन भूमि आधुनिक नेपालको जनकपुर क्षेत्र र यसको वरपरको वैदिक सम्पदासँग अभिन्न रूपमा जोडिएको छ। यही पवित्र भूमिमा, जहाँको हावामा समेत आध्यात्मिक ऊर्जा महसुस हुन्थ्यो, त्यहाँका विद्वान र ज्ञानी राजा जनकले, आफ्नो राजकीय वैभव र पदका बाबजुद पनि, परम सत्य र मुक्तिको खोजी गरिरहेका थिए। उनको यो गहिरो जिज्ञासाले उनलाई असाधारण ऋषि, अष्टावक्रसम्म पुर्यायो।
राजा जनक र ऋषि अष्टावक्रबीच भएको त्यो अद्वितीय संवाद, जुन कालजयी ग्रन्थ ‘अष्टावक्र गीता’ मा संग्रहित छ, यही आध्यात्मिक इतिहासले सम्पन्न भूमिमा घटित भएको थियो। यस संवादले हामीलाई वास्तविकतालाई हेर्ने हाम्रो दृष्टिकोणमाथि नै प्रश्न उठाउन बाध्य पार्छ, ठीक त्यसरी नै जसरी आज हामी समाजमा व्याप्त सतही प्रवृत्तिहरूलाई देख्छौं।
यो प्राचीन नेपाली परिवेश, वैदिक ज्ञान र कथाहरूले भरिपूर्ण, हाम्रो यस चिन्तनको लागि एक सान्दर्भिक र शक्तिशाली सुरुवात बिन्दु प्रदान गर्दछ। जसरी राजा जनकले अष्टावक्रको बाङ्गो शरीरभन्दा पर हेरेर उनको भित्र लुकेको गहन ज्ञानलाई खोजे, त्यसरी नै यस भूमिबाट जन्मेका शिक्षाहरूले हामीलाई बाहिरी रूप र दिखावाको आधारमा मूल्याङ्कन गर्ने हाम्रो आधुनिक बानीमाथि प्रश्न गर्न प्रेरित गर्दछन्।
हजारौं वर्ष पुरानो भए तापनि, ऋषि अष्टावक्र र राजा जनक बीचको संवाद, अष्टावक्र गीता, आज पनि आत्म-अन्वेषण (self-exploration) र चेतना (consciousness) को अध्ययनमा उत्तिकै सान्दर्भिक छ। यो ग्रन्थ अद्वैत वेदान्त (Advaita Vedanta) को सार हो, जसले वास्तविकता (reality) को प्रकृति, ‘म’ (the ‘I’) को भ्रम, र परम मुक्तिको मार्गलाई उजागर गर्दछ। आश्चर्यजनक रूपमा, यसका गहन दार्शनिक अन्तरदृष्टिहरू आधुनिक विज्ञानका विभिन्न शाखाहरू – क्वान्टम भौतिकशास्त्र (Quantum Physics), ब्रह्माण्ड विज्ञान (Cosmology), न्युरोसाइन्स (Neuroscience), र संज्ञानात्मक मनोविज्ञान (Cognitive Psychology) – का नवीनतम खोजहरूसँग प्रतिध्वनित हुन्छन्। विज्ञान वस्तुगत प्रमाण (objective evidence) मा आधारित छ भने गीता अनुभवात्मक ज्ञान (experiential knowledge) मा, तर दुवैले यथार्थको गहिरो तहलाई बुझ्ने प्रयास गर्छन्। यस लेखमा, अष्टावक्र गीताका केही प्रसंग (कथा), प्रमुख श्लोकहरू प्रस्तुत गर्दै, तिनलाई आधुनिक वैज्ञानिक अवधारणाहरूसँग विस्तृत रूपमा जोड्ने प्रयास गरिएको छ।
३. अष्टावक्र गीता: एक अद्वितीय परिचय:
हामी एक अनौठो यात्रामा छौं। मानव जातिसँग अनेकौं शास्त्रहरू छन्, तर अष्टावक्र गीता जस्तो अद्वितीय शास्त्र सायदै (विरलै) होला। यसको अगाडि वेदहरू फिक्का लाग्न सक्छन्, उपनिषदहरूको स्वर धीमा सुनिन सक्छ, तर अष्टावक्र संहिता निर्भीक र स्पष्ट छ। अष्टावक्रका वचनहरू कुनै पनि सामाजिक, राजनीतिक वा जीवनका सतही व्यवस्थाहरूको प्रभावबाट पूर्णतया मुक्त भएकोले उनका वचनहरू समय र कालको सीमाभन्दा पर, शाश्वत सत्यका अभिव्यक्ति हुन्।
आध्यात्मिक गुरु ओशो रजनीशका अनुसार, “अष्टावक्रका वचनहरूले समाजमा कृष्णको गीताले जस्तो व्यापक प्रभाव पार्न सकेनन्। यसको मुख्य कारण कृष्णको गीता समन्वयवादी हुनु हो। कृष्ण सत्यको साथसाथै समन्वयमा पनि ध्यान दिन्छन्, जसले गर्दा उनको गीतामा सबैले आफ्नो लागि केही न केही पाउँछन्, यो एक प्रकारको ‘खिचडी’ जस्तै हो। तर अष्टावक्र समन्वयवादी होइनन्, उनी शुद्ध सत्यवादी हुन्। उनका वचनहरूमा कुनै मिलावट छैन, ती शुद्ध र स्पष्ट छन्। उनलाई श्रोताले बुझ्छन् कि बुझ्दैनन् भन्ने चिन्ता छैन; उनले सत्यलाई जस्तो छ, त्यस्तै प्रस्तुत गरेका छन्, बिना कुनै लागलपेट।”
४. अष्टावक्रका कथा: बाह्य रूप र आत्मज्ञानको गहिरो संघर्ष ||Ashtavakra’s Tales: The Deep Struggle Between External Form and Inner Knowledge ||
अष्टावक्रका जीवनका बारेमा थोरै घटनाहरू उपलब्ध छन् र उनी इतिहासमा एक महत्वपूर्ण सामाजिक वा राजनीतिक व्यक्तित्वको रूपमा प्रस्तुत भएनन्। तर, अष्टावक्रसँग सम्बन्धित दुईवटा मात्र कथाहरू प्रचलित छ्न। जसको गहिरो सांकेतिक अर्थ छ र यी कथाहरू आज पनि हाम्रो चेतना र आत्मज्ञानको खोजीमा मार्गदर्शकका रूपमा प्रस्तुत भइरहेका छन्। यी कथाहरू घटनाहरू मात्र नभएर, हामीलाई जीवन र अस्तित्वको गहिराइमा विचार गर्न प्रेरित गर्ने शिक्षा पनि प्रदान गर्छन्।
क. अष्टावक्रका जन्मका पृष्ठभूमि: श्राप र आत्मज्ञान (पहिलो कथा प्रसंग) :
अष्टावक्रका बारेमा सबैभन्दा प्रसिद्ध कथा उनको जन्मसँग सम्बन्धित छ। भनिन्छ, अष्टावक्रका पिता, कहोड, एक प्रसिद्ध विद्वान् पण्डित थिए जसले दैनिक वेदपाठ गर्थे। अष्टावक्र गर्भमा रहेका बेला यी वेदपाठका शब्दहरूको ध्वनि सुन्दै, उनले गर्भबाटै भनें, “रोक्नुहोस्! यो सबै व्यर्थ छ। यहाँ कुनै ज्ञान छैन, केवल शब्दहरूको संग्रह मात्र छ।”
अष्टावक्रको यो भनाइले उनका पिता अत्यन्त क्रोधित भए। पण्डित्याईंको अहंकारलाई चोट पुग्ने भएकाले उनले श्राप दिए, “तँ जन्मँदा तेरो शरीर आठ स्थानबाट बाङ्गो हुनेछ।” र यस प्रकार अष्टावक्रको नाम “अष्टावक्र” (आठ ठाउँमा बाङ्गो) राखिएको हो।
कथाको सांकेतिकता: बाह्य रूपको भ्रम र आन्तरिक सत्य:
यो कथा केवल एक साधारण घटना होइन, बरु यसमा गहिरो प्रतीक छ। अष्टावक्रको गर्भबाट बोली एक गहिरो सन्देशको रूपमा प्रस्तुत गरिएको छ। यसले यो संकेत गर्दछ कि शब्दहरू र बाह्य रूप मात्र ज्ञानको सम्पूर्णता समेट्न सक्दैनन्। अष्टावक्रले गर्भबाटै चेतना र ज्ञानको वास्तविकता देखाएका थिए। जसले हाम्रो चेतनाको गहिराइ र उच्चतम अवस्थाको खोजीमा अनुभवको महत्त्वलाई उजागर गर्दछ।
जस्तै, बुद्धको जन्ममा सात पाइला हिँड्नु, लाओत्सेको ८० वर्षको उमेरमा जन्मिनु, वा जरथुस्त्र जन्म्ने बेलामा हाँस्नु— यी सबै घटनाहरू बाह्य जन्मको सूचक नभएर चेतनाको गहिराई र उच्च अवस्थाको प्रतीक हुन्। अष्टावक्रको जन्मको कथा पनि यही सन्देश दिन्छ, जसले केवल शब्द र बाह्य घटनाका आधारमा ज्ञानको मूल्याङ्कन नगरी आन्तरिक अनुभव र सत्यको खोजीको महत्त्वलाई दर्शाउँछ।
ख) राजा जनकको सभामा: बाह्य रूप र आत्मा बीचको भिन्नता (दोस्रो कथा प्रसंग)
अष्टावक्रसँग सम्बन्धित अर्को प्रसिद्ध कथा राजा जनकसँगको संवाद हो। राजा जनकले एक भव्य शास्त्रार्थ आयोजना गरेका थिए जसमा देशभरका विद्वान्हरूलाई निम्त्याइएको थियो। यस शास्त्रार्थको पुरस्कार स्वरूप हजार गाईहरू, जसका सिङमा सुनका झुन्ड्याइएको थियो, राखिएका थिए। अष्टावक्रका पिता पनि यस सभामा सहभागी थिए, र उनका विचारहरू जनकसँग भिन्न भएकाले उनी हार्न थालेका थिए ।
यति बेला, १२ वर्षको अष्टावक्र सभामा प्रवेश गरे र उनका आठ ठाउँमा बाङ्गिएको शरीर देखेर सभामा उपस्थित मानिसहरूले हाँस्न थाले। तर अष्टावक्र भने सबैभन्दा ठूलो हाँसो गरे। राजा जनक अचम्मित हुँदै सोधे, “अरू सबै हाँसेका छन्, तर तिमी पनि किन हाँस्यौ?”
अष्टावक्रले जवाफ दिए, “म यसकारण हाँसेँ कि यहाँ सत्यको निर्णय चमडा(छाला)का व्यापारीहरूले गर्दैछन्।”
राजा जनक अचम्मित भए र सोधे, “तिमीले भनेको के हो?”
अष्टावक्रले भने, “यी पण्डितहरू मेरो बाङ्गो शरीर मात्र देखिरहेका छन्, मलाई (मेरो आत्मालाई) देखेका छैनन्। जसले केवल छाला (चमडा) हेर्छ, ऊ चमार हो। ज्ञानीले त आत्मा हेर्छ।”
यसको जवाफले राजा जनकलाई गहिरो प्रभाव पार्यो र उनले भोलिपल्ट बिहानै अष्टावक्रलाई भेट्न गएर शिष्य बन्ने इच्छा व्यक्त गरे। यसरी, राजा जनकको आत्मज्ञानको यात्रा सुरु भयो।
निष्कर्ष हेर्ने दुई दृष्टि: चर्म-दृष्टि र आत्मा-दृष्टि:
यो कथा हाम्रो दृष्टिकोण र मूल्याङ्कनको प्रक्रियामा एक ठूलो पाठ प्रस्तुत गर्दछ। बाह्य रूप र शरीरको माध्यमबाट केवल सतही दृष्टिकोणमा कुनै कुरा वा व्यक्तिको मूल्याङ्कन गर्नु सही छैन। अष्टावक्रले यहाँ हाम्रो ध्यानलाई शरीर र बाह्य रूपबाट हटाएर आत्मा र चेतनाको गहिराइतर्फ निर्देशित गरे। उनले सत्य र ज्ञानको परिभाषा फेरी बदल्न र अनुभवको महत्त्व बुझ्नका लागि हामीलाई प्रेरित गरे।
यस कथा मार्फत, अष्टावक्रले हामीलाई यस सन्देश दिन चाहन्थे कि ज्ञान र तर्क केवल बाह्य रूपको आधारमा होइन, आन्तरिक सत्य र आत्मा को गहिराइबाट खोजिनु पर्छ। यसले ज्ञानको प्राप्ति र आत्मज्ञानको प्रक्रियामा केवल शब्द र बाह्य रूपले सीमित नगरी, गहिरो आन्तरिक अनुभवलाई महत्त्व दिनुपर्ने आवश्यकता औंल्याउँछ।
यो कथाले हामीलाई हेर्ने दुई तरिकाहरू सिकाउँछ: एक, चर्म-दृष्टि (बाहिरी रूप हेर्ने) र अर्को, आत्मा-दृष्टि (भित्री सत्य हेर्ने)। जसले केवल बाहिरी शरीर, रूप वा अवस्था हेर्छ, ऊ कहिल्यै सत्यसम्म पुग्न सक्दैन। तर जसले आत्मालाई देख्छ, ऊ सत्यको मार्गमा अघि बढ्न सक्छ। यो आजको समाजको सतही मूल्याङ्कन प्रवृत्तिमाथिको गहिरो चोट हो। अष्टावक्रका जीवनका यी घटनाहरू हाम्रो चेतना र आत्मज्ञानको प्रक्रियामा एउटा गहिरो शिक्षाको रूपमा प्रस्तुत भएका छन्। यी कथाहरू केवल बाह्य घटनाहरू मात्र होइन, तिनीहरूले हामीलाई भित्रको सत्य र आत्मा खोज्न प्रेरित गर्छन्। अष्टावक्रका शिक्षाहरूले हाम्रो दृष्टिकोणलाई विस्तृत र गहिरो बनाउँछन् र केवल भौतिक रूपको मूल्याङ्कन नगरी आत्मज्ञानको महत्त्वमा ध्यान दिन प्रेरित गर्छन्।
५. अष्टावक्र गीता: आत्मज्ञानको प्रत्यक्ष मार्ग:
अष्टावक्र गीता केवल शब्दहरूको संग्रह होइन, यो आत्मज्ञानको प्रत्यक्ष मार्ग हो। यसलाई बुझ्न बौद्धिक तर्कभन्दा पनि अनुभव र शुद्ध हृदय चाहिन्छ।
क) विवेकानन्दको अनुभव: एकपटक स्वामी विवेकानन्दले रामकृष्ण परमहंससँग सोधे, “परमात्मा हुनुहुन्छ भने प्रमाण दिनुहोस्।” रामकृष्णले प्रमाण दिनुको सट्टा विवेकानन्दलाई अष्टावक्र गीता पढेर सुनाउन आग्रह गरे। जब विवेकानन्दले पढ्न थाले, उनी शब्दहरूको गहिराइमा डुब्दै गए, उनको हृदय काँप्न थाल्यो र उनी पढ्न असमर्थ भए। रामकृष्ण मुस्कुराए, किनकि उनी जान्दथे कि अष्टावक्रका शब्दहरूमा आत्मालाई झंकृत गर्ने, जगाउने शक्ति छ। यी केवल अक्षर होइनन्, यी जीवित ऊर्जा हुन्। रामकृष्णले अष्टावक्र गीता नै छान्नुको कारण थियो—यसमा शुद्धतम सत्य छ, जुन आत्माको गहिराइमा सीधै प्रवेश गर्न सक्छ।
ख) जनकका तीन प्रश्न: राजा जनकले अष्टावक्रसँग तीन आधारभूत प्रश्न सोधेका थिए:
अ) ज्ञान कसरी प्राप्त हुन्छ? (कथं ज्ञानमवाप्नोति?)
आ) मुक्ति कसरी सम्भव हुन्छ? (कथं मुक्तिर्भविष्यति?)
इ) वैराग्य कसरी प्राप्त हुन्छ? (वैराग्यं च कथं प्राप्तम्?)
यी प्रश्नहरू सरल देखिए पनि यिनका उत्तरहरू गहन छन् र आत्म-अनुभवमा आधारित छन्। शास्त्रहरूमा लेखिएका कुराहरू जानकारी (धूलो) मात्र हुन सक्छन्, तर वास्तविक ज्ञान त्यो हो जसले मुक्त गराउँछ (सा विद्या या विमुक्तये)।
ज्ञान र जिज्ञासाको सम्बन्ध: अष्टावक्रले जनकको जिज्ञासालाई केवल बौद्धिक कौतुहलको रूपमा हेरेनन्, बरु त्यसको स्रोत, जनकको मनोदशा र उनको बन्धनको अवस्थालाई बुझे। ज्ञानीको जिज्ञासा मौन हुन्छ, किनकि उसले उत्तर आफैंभित्र पाइसकेको हुन्छ। तर बन्धनमा रहेको जिज्ञासुको प्रश्नमा उसको छटपटी र मुक्तिप्रतिको गहिरो आकांक्षा लुकेको हुन्छ। अष्टावक्रले जनकलाई बाहिरी उत्तर दिनुको सट्टा उनको आफ्नै चेतनालाई जागृत गराउने मार्ग देखाए। उनले बुझाए कि ज्ञान पुस्तकमा होइन, अनुभव र आत्मबोधमा छ। मुक्ति शास्त्र घोकेर होइन, आत्म-साक्षात्कारबाट प्राप्त हुन्छ।
६. निष्कर्ष: बाह्य आवरणबाट सत्यतर्फ:
अष्टावक्र गीता हामीलाई बाह्य संसारको भ्रम र सतही मूल्याङ्कनबाट माथि उठेर आफ्नो भित्री सत्य र आत्माको स्वरूपलाई चिन्न प्रेरित गर्दछ। यसले समाजको ‘चर्म-दृष्टि’ लाई चुनौती दिँदै ‘आत्मा-दृष्टि’ विकसित गर्न आह्वान गर्दछ। जनक र अष्टावक्रको संवादले देखाउँछ कि साँचो ज्ञान, मुक्ति र वैराग्य बाहिरी कर्मकाण्ड वा बौद्धिक अभ्यासबाट मात्र प्राप्त हुँदैन, बरु यो गहिरो आत्म-अन्वेषण र आत्मबोधको परिणाम हो। आजको भागदौड र सतहीपनको युगमा, अष्टावक्र गीता का शिक्षाहरू झनै सान्दर्भिक छन्। यसले हामीलाई रोकिन, सोच्न र आफ्नो जीवनको वास्तविक उद्देश्य – बाह्य भ्रमबाट मुक्त भएर शाश्वत सत्य र आनन्दको अनुभव गर्नु तर्फ डोर्याउँछ। यो केवल एक ग्रन्थ होइन, यो आत्मिक क्रान्तिको स्रोत हो, जसले हामीलाई आफू वास्तवमा को हौं भन्ने बोध गराउँछ।
स्रोत:
१) अष्टावक्र गिता
२) अद्वैत वेदान्त (शंकराचार्य)
३) अष्टावक्र माहागीता ; रजनिस ओशो
४) सन्त गाथा ; स्वामी आनन्द अरुण
५) ज्ञान योग ; स्वामी विवेकानन्द
६) माया तथा लिला (Menifestation and Dynamism) ; अरुण कुमार सुवेदी
७) ईन्टरनेट ।
क्रमशः अष्टावक्र गीता र आधुनिक विज्ञान: श्लोकहरूमा प्राचीन ज्ञान र आधुनिक खोजको विस्तृत संगम || भाग २ ||









